असोज ०६, २०८१, आइतबार
               

जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरको सडक सौर्यबत्ती

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियान अन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्य बत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७५–७६ मा विनियोजित एक करोड १४ लाख ७८ हजार रुपैयाँ बजेटमा विराट इनर्जी प्रालिले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा १५ वटै वडामा सौर्यबत्ती जडान गरेको थियो । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा वडाको मुख्य–मुख्य स्थानमा जडान गरिएको सौर्यबत्तीमा शुरुदेखि नै समस्या देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

अहिले दिक्तेल बजारको रत्नपार्क, सामुदायिक प्रहरी सेवा केन्द्र, माटिकोरे कर्भडहल, आचार्यगाउँ, अस्पतालचोकलगायत विभिन्न ठाउँमा जडान गरिएको सौर्यबत्ती बलेको देखिँदैन । विराट इनर्जी प्रालिले आव २०७५–७६ को असार मसान्तभित्र जडान सम्पन्न गरेको सौर्यबत्ती सुरुदेखि नै कतै नबल्ने तथा कतै बलेको पनि मधुरो बल्ने गरेको स्थानीय बासिन्दाको गुनासो आएको थियो । 

नगरपालिकामा जडान गरिएको सडक सौर्यबत्तीमा पाँच वर्षे ग्यारेण्टी भएकाले बीचमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठेकेदार कम्पनीले पाउने धरौटी रकम फिर्ता नदिई नगरपालिकामै राखिएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए । सौर्य बत्तीमा समस्या आएको भनेर स्थानीय बासिन्दाबाट गत असारदेखि मात्र गुनासो आउन थालेको नगरपालिकाले जनाएको छ । 

आफूहरुले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले दशैँ अगाडिसम्ममा उक्त समस्या हल गरेर सञ्चालनमा ल्याउने तयारी गरिने प्रालिका प्रतिनिधि सरोज शर्माले बताए । ‘गुणस्तरीयतामा नगरपालिकाको मापदण्डानुसारकै सामान प्रयोग गरिएको छ’, उनले भने, ‘अहिले विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण अवरुद्ध सौर्यबत्ती मर्मत गर्नमा ढिलाइ भएको छ, दशैँ अगाडि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइनेछ ।’ 

यसैबीच दिक्तेल बजारमा जडान गरिएको सिसी क्यामेराले समेत काम गर्न छाडेको पाइएको छ । सरकारी कामकाज तथा किनमेल गर्न आउने सर्वसाधारणको भीड लाग्ने दिक्तेल बजारमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले बजार क्षेत्रका १६ स्थानमा सिसी क्यामेरा जडान गरिएको थियो । 

नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँको लगानीमा दिक्तेल बजारका विभिन्न ठाउँमा जडान गरिएको सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले सार्वजनिकस्थलमै धूमपान तथा मादक पदार्थ सेवन गर्ने, असभ्य व्यवहार गर्ने, होहल्ला गर्दै हिँड्नेलगायतका क्रियाकलाप बढ्न थालेको पाइएको छ । नगरपालिकाले जडान गरेको सिसी क्यामेराले स्थानीय बासिन्दाको शान्ति सुरक्षामा समेत सघाउ पुग्ने अपेक्षा गरिएको थियो । 

अवरुद्ध सडक सौर्यबत्ती तथा सिसी क्यामेरा पुनः मर्मत गरेर चाँडै सञ्चालनमा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘नगरपालिकामा जडान गरिएका सडक सौर्यबत्तीमा ठेकेदार कम्पनीले गद्दारी गरेको पाइएपछि धरौटी रकम जफत गरिएको छ’, उनले भने, ‘जफत गरिएको धरौटी रकमबाटै प्राविधिक खटाएर अवरुद्ध सडक बत्ती मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने गरी प्रक्रिया थालिएको छ ।’

सिसी क्यामेरा भने दिक्तेल बजारको विभिन्न ठाउँमा सडक ढलानको काम भइरहेकाले अवरुद्ध भएको नगरप्रमुख रिजालले बताए । दिक्तेल बजार क्षेत्रमा विस्तार गरिएका विद्युत् पोलमा सिसी क्यामेरा जडान गरिएकाले सडक ढलान गर्दा विद्युत् पोल नै हटाइएपछि सिसी क्यामेरा अवरुद्ध भएको जनाइएको छ ।

दिक्तेल बजारमा अवरुद्ध सिसी क्यामेरासमेत पुनः जडान गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । सडक बत्ती र सिसी क्यामेर एकैसाथ अवरुद्ध भएपछि पछिल्लो समय दिक्तेल बजार अस्तव्यस्त बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि