बागमती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । वि.सं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।
नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौं उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । बागमतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो । सफाइमा काठमाडौं महानगरपालिका वडा नं-११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो ।
यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।
रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण
रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गरेका हुन् । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्नका लागि बाँडेका हुन् ।
सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । गुर्जो वितरण अभियानकर्मी राजलवटले यस क्षेत्रका एक घरलाई एक गुर्जोको बिरुवा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाए ।
मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको धुलो महानगरपालिकाका वडा नं ७, ९ र ३० मा कोरोना पोजेटिभ आउने सबैलाई निःशुल्क सेवनका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि उनको थियो । कार्यक्रममा सुरक्षाकर्मीसहित १५० जना अभियानकर्मी सफाइ र गुर्जो रोपणमा सहभागी भएको अभियानकर्मी गिरीले जानकारी दिए ।
लोकतान्त्रिक चोकमा ५०० परिवारलाई गुर्जो वितरण
विष्णुमती सफाइ अभियानको ३१४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा त्यस वरपरका पाँच टोलका मानिसलाई ५०० वटा गुर्जोको बिरुवा घर घरमा रोप्न हस्तान्तरण गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । विष्णुमती किनारका बस्तीमा रोप्न पनि गुर्जो वितरण अभियानकर्मी राजलवटले नै बिरुवा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, अभियानकर्मी राजलवट र पाण्डे, पातञ्जल योग समिति बागमती प्रदेशका अध्यक्ष सुवर्णलाल चित्रकार, काठमाडौं जिल्ला अध्यक्ष ऋषि लोहनीलगायतले गुर्जोको उपयोगिताका विषयमा प्रकाश परे ।
आलोकनगर सफाइको १८४औँ हप्तामा केही बेर सफाइ गरी गुर्जोको बेर्ना बाँड्नुका साथै बगैँचाका रुख बिरुवा गोडमेल गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिइन् । उत्तरी खण्डको चक्रपथ सफाइको १८४औँ हप्तामा त्यस क्षेत्रमा पहिलेभन्दा धेरै फोहर भेटिएको अभियानले जनाएको छ । कोरोनाको महामारी फैलिए पनि मानिसमा सफाइप्रतिको सचेतना नबढेको पाइएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । फोहरले कोरोनालगायत अन्य रोगव्याधि पनि बढ्ने भएकाले सचेत हुन उनले आह्वान गरे ।