असोज ०६, २०८१, आइतबार
               

हुम्लाको सीमामा हराएको ११ नम्बरको पिल्लर भेटियो, ५ हजार मिटरभन्दा माथिको उचाइमा पर्‍यो फेला

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । हुम्लामा पर्ने नेपाल चीन सीमा ११ नम्बर पिल्लर फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

२०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ । त्यहाँ पुग्न हिल्साबाट ६ घण्‍टा लाग्छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार ०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटाएको थिएन ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो ।

शनिबार सिडिओ गिरीको नेतृत्वमा सशस्त्र प्रहरी डिएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली जिल्ला सदरमुकाम सिमिकोटबाट सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको थियो । गाउँपालिकाको टोली पनि उनीहरुसँगै गएको थियो ।

गाउँपालिका अध्यक्ष लामा भने चिनियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए । लामाले पिल्लर भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने बताए । ‘माथिको टोली फर्किसकेपछि त्यो भूमि कता पर्छ भन्ने थाहा हुन्छ,’ उनले भने ।

लामालाई चिनियाँ सिमबाट पिल्लर फेला परेको तस्विर हिजो साँझ नै आइसकेको छ। त्यहाँ नेपाली सिमले भने काम गर्दैन । जिल्लाको टोली आज साँझसम्म आइपुग्ने उनको भनाइ छ ।

जिल्लाको टोलीलाई तत्कालीन सीमा प्रशासन कार्यालयका मुखिया छवाङ छवाङ टोक्केल लामाले पिल्लर भएको क्षेत्रबारे गाइड गरेका थिए । उनको सूचनाका आधारमा टोलीले पिल्लर फेला पारेको हो । छवाङले २०५१ र ५२ सालमा ११ नम्बर पिल्लरको निरीक्षण गरेका थिए । त्यसपछि सीमा प्रशासन कार्यालयलाई जिल्ला प्रशासन मातहत गाभिएपछि सीमा निरीक्षण पनि प्रभावित भयो ।

लाप्चा क्षेत्रमा राज्यको शून्य उपस्थिति छ । त्यहाँ सशस्त्रको बिओपी राख्नुपर्ने माग उठ्दै आएको छ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले पनि सीमा निरीक्षणमा गएको टोली आज फर्किने जानकारी दिए । ‘सिडिओसाप आएपछि सबै कुरा सार्वजनिक गर्छौं,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि