काठमाडौं । नेपाली टोलीसामु चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको सो टोलीसमक्ष चिनियाँ सेनाले यस्तो दाबी गरेको हो ।
नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सो टोली स्थलगत अध्ययनका लागि गएको थियो । उक्त टोलीसँगै नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङ पनि सहभागी थिए ।
‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा छ १२ नम्बर पिल्लर’ टलीमा सहभागी एक टोलीले भने । ‘उहाँहरुले यो भूमि हाम्रै हो । तपाईंहरुको केही कुरा भए बोर्डरमा गरौँला भन्नुभयो ।’
नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ ।
यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ ।