काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोहमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । ‘सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्यौँ, त्यो महत्वपूर्ण कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।’
उनले समाजमा गरिबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको बताउँदै कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामर्थ्यले धान्न नसकेको अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण हुने गरेको बताए ।
केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्ने बताए ।