बागलुङ । बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ ।
स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारीसाधन बीचमै रोकिएको थियो ।
पहिरोका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ ।
घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकीकोमा आश्रय लिइरहेका छन् ।