असोज ०६, २०८१, आइतबार
               

म्याग्दीमा विद्यालय भवन स्थानान्तरण

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो ।

नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए । 

विसं २०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो । नदी कटानका कारण करिब ६ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए ।

‘नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ’, प्रअ छन्त्यालले भने, ‘पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो ।’ विद्यालय स्थानान्तरणका लागि ९ रोपनी जग्गा खरिद गरिएको छ ।

आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी दुई लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।   

सोही जग्गामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा तीन वटा दुई तले १२ कोठे भवन निर्माण भएको छ । प्राधिकरणको एक करोड ४० लाख रुपैयाँ अनुदानमा चार–चार कोठे दुई वटा भवन निर्माण भएको छ ।

अर्को चार कोठे भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६–७७ मा १६ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । प्रवासमा रहेका कुइनेमङ्गलेबासीहरुले जुटाएर पठाएको ९ लाख रुपैयाँ लागतमा कार्यालय प्रयोजनका लागि एक तले भवन निर्माण भएको छ । 

भवनका साथै छात्रामैत्री शौचालयसमेत निर्माण भएको छ । नयाँ भवन निर्माण भएको ठाउँमा नदी कटान नियन्त्रण, घेराबार र सुरक्षित खानेपानी योजनाको माग गरिएको अध्यक्ष छन्त्यालले बताए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ११५ विद्यार्थी छन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सो विद्यालयका तीन शिक्षकलाई निजी स्रोतबाट तलब व्यवस्थापन गरिँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि