काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।