बैशाख १८, २०८१, मंगलबार
               

सेलिब्रेटीका पनि सेलिब्रेटी ‘जुरी ठाकुर’
कपाल काट्ने पुर्खौली पेसाले बनाएको सेलिब्रेटी

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

झण्डै दुई दशकयता  निरन्तर ‘हेयर कटिङ र डिजाइनिङ गर्दै आएका उनी सेलिब्रेटीका पनि सेलिब्रेटीको रुपमा चर्चित छन् । कपाल काट्ने उनको पेसा पुर्खौली हो । उनलाई यही पेसाले ‘सेलिब्रेटी’ बनाएको हो ।

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविधानसम्पन्न हेयर डिजाइन सेन्टरतिर’, तर कहिलेकाहीँ यस्तो अनुमानले फेल खान सक्छ ।

नयाँबानेश्वर खरीबोट चोकमा एउटा सामान्य पार्लर छ। त्यसको नाम हो ‘जुरी युनिसेक्स पार्लर’ । जहाँ ५–६ जनाको कपाल एकै पटक काट्न मिल्छ । सामान्य सुविधा सम्पन्न सो पार्लरका सञ्चालक हुन् जुरी ठाकुर ।

पछिल्लोसमय टिकटकलगायत सामाजिक सञ्जालमा छाएका हेयर डिजाइनर हुन् जुरी । झन्डै दुई दशकयता निरन्तर ‘हेयर कटिङ र डिजाइनिङ गर्दै आएका उनी सेलिब्रेटीका पनि सेलिब्रेटीको रुपमा चर्चित छन् । कपाल काट्ने उनको पेसा पुर्खौली हो । उनलाई यही पेसाले ‘सेलिब्रेटी’ बनाएको हो ।

कारण हो, नेपालमा नाम चलेका अधिकांश कलाकार उनकैमा कपाल काट्न जान्छन् । उनैले अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै आएका छन् । ‘१९ वर्ष भयो कपाल काट्न थालेको, कला क्षेत्रमा लागेका व्यक्तिको कपाल काट्न सुरु गरेको भने आठ वर्षमात्र पुगेको छ,’ उनी सुनाउँछन् ।

जुरी ठाकुर, आफ्नै पार्लरमा

जब पार्लरमा कलाकार आउन थाले

उनको सैलुङमा सुरुमा एकजना फिल्म निर्देशक कपाल काट्न आउँथे । पछि उनैले अरू कलाकार लिएर कपाल काट्न आउन थाले । त्यसयता दिन प्रतिदिन कलाकार आउन थालेका हुन् । कला क्षेत्रमा लागेकाहरु आउन थालेपछि उनले आफ्नो पार्लरलाई अझ बढी व्यवस्थित बनाएका छन् । ‘पहिला परम्परागत शैलीमा पार्लर चलाएको थिए, अहिले आधुनिकता दिने प्रयास गरेको छु ’ उनले भने । 

 

अहिले कोरोना भाइरस सङ्क्रमणको त्रासको समयमा उनलाई दैनिक दजैनौँ फोन आउने गरेको छ । तर, उनी अत्यावश्यक र अवस्था हेरेर मात्र सेवा दिन्छन् ।

कोरोना सङ्कटमा पनि कलाकारका सारथि

कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै जाँदा उनले सुरक्षाका अधिकतम उपाय अपनाएर कलाकारलाई चिटिक्क बनाइरहेका छन् । कोरोना भाइरससँग बच्न सरकारले अपनाएको सुरक्षा मापदण्डको पालना गर्दै कलाकारलाई सेवा दिइरहेका छन् । उनले पिपिई लगाएर कपाल काट्ने गरेका छन् ।

अहिले कोरोना भाइरस सङ्क्रमणको त्रासको समयमा उनलाई दैनिक दजैनौँ फोन आउने गरेको छ । तर, उनी अत्यावश्यक र अवस्था हेरेर मात्र सेवा दिन्छन् ।

‘उच्च सुरक्षा सतर्कता अपनाए अत्यावश्यक काम परेका कलाकारलाई सेवा दिइरहेको छु, धेरैजसो कलाकार पार्लरमै आउँछन्,’ जुरीले सुनाए । हरेक व्यक्तिको कपाल काटेपछि उनले आफ्नो पार्लरमा निशंक्रमण औषधि छर्ने गर्छन् । आफूले लगाएको पिपिई, मास्क, र ग्लोबल फेर्ने गर्छन् । 

महानायक राजेश हमालसँग जुरी ठाकुर

ग्रहक नै भगवान्

जुरीले आफ्ना ग्राहक कलाकारलाई भगवान् ठान्छन् । ‘हेयर डिजाइनर’ जुरीले सेलिब्रेटी तथा ग्राहक वर्गलाई जसरी भगवान् ठान्छन्, त्यसैगरी ग्राहक र सेलिब्रेटी उनलाई सम्मान गर्छन् । 

उनी भन्छन्, ‘म कहाँ आउने ग्राहकलाई खुसी बनाउन सके भने मात्र म खुसी हुन्छु, अहिलेसम्म आएकाहरू खुसी भएर फर्किएका छन्, एक पटक आएपछि प्राय: आइरहन्छन् ।’

जुरी भन्छन्, ‘धेरैजसो उहाँहरूकै घरमा गएर काटिदिने गरेको छु । कपाल काटेको म पैसा माग्दिनँ, तर उहाँहरूले जति दिनुहुन्छ त्यही लिन्छु ।’

अनि बने सेलिब्रेटीका पनि सेलिब्रेटी

कलाकार, पत्रकार, अफिसियल वा म्यानेजमेन्टजस्तो व्यक्तित्व हो, त्यहीअनुरूप हेयर डिजाइनर गर्छन् उनी । यही उनको मुख्य विशेषता हो । त्यसैले एक पटक उनीकहाँ कपाल काटेपछि ग्राहक अन्त मोडिँदैनन् । १९ वर्षदेखि एउटै स्थानबाट सेवा दिन नै सफल हुनको कारण मान्छन् उनी ।

जुरी युनिसेक्स पार्लरको विशेषता भनेको हेयर कटिङ, हेयर स्टेट, कलरिङ, फेसवास, हाइलाइट्स आदि हुन् । अर्को विशेषता भनेको मुस्कानसहितको सेवा हो । जसले आज जुरी सेलिब्रेटीमाझ आफैँ सेलिब्रेटी बनेका छन् ।

कपाल काटिदिएपछि नायक पल शाहसँग फोटो खिचाउँदै जुरी ठाकुर

उनले नेपाली फिल्म उद्योगका धेरै अभिनेता तथा अभिनेत्रीहरूको कपाल काटिसकेका छन् ।  सुनिल थापा, बिराज भट्ट, रमित ढुङ्गाना, दीलिप रायमाझी, जयकिसन बस्नेत, शोभित बस्नेत, प्रदीप खड्का, पल शाहलगायत अधिकांश कलाकारको कपाल डिजाइडिङ राम्रो बनाइदिने गरेका छन् ।

अहिलेका चल्तीका महिला कलाकार पनि उनको पार्लरमा जान्छन् । दुई जना महिला हेयर डिजाइनरसमेत उनको पार्लरमा काम गर्छन् ।

उनले काम सिकाएकाहरू विश्वका विभिन्न देशमा हेयर डिजाइनर भएर काम गरिरहेका  छन् । केही भने फर्केर उनकै पार्लरमा काम गर्दैछन् ।

यति नै दिनुस् भनेर कहिल्यै मागेनन्

अचम्मको कुरा त उनीले कपाल काटेको मूल्य निर्धारण गरेका छैनन् । उनको पार्लरमा अरू पार्लरमा जस्तो  रेट लिस्ट छैन । ग्राहकले जति दिन्छन्, त्यतिमा चित्त बुझाउँछन् उनी ।

कतिपयले खुसी भएर चलन चल्तीको रेटभन्दा धेरै दिएर जान्छन् ।

जुरी भन्छन्, ‘धेरैजसो उहाँहरूकै घरमा गएर काटिदिने गरेको छु । कपाल काटेको म पैसा माग्दिनँ, तर उहाँहरूले जति दिनुहुन्छ त्यति लिन्छु ।’

चर्चित गायक यम बरालको घरमै कपाल काट्दै जुरी ठाकुर


विगतका सङ्घर्ष

महोत्तरी एकडाँडा–५ बहेराका जुरीले सुरुमा आफ्नो बाबुको पेसा अँगाल्दा निकै दुःख पाएको सुनाउँछन् । सेलिब्रेटीका पनि सेलिब्रेटी बन्न उनले अहिलेसम्म कति सङ्घर्ष गरे उनलाई मात्र थाहा छ ।

‘मेरा दुख मैसँग छन्,’ उनी आफ्नो विगत सुनाउँछन् ।  सँगै उनी अहिले आफ्नो सङ्घर्षका चरण  करिब -करिब सकिएको बताउँछन् ।  अहिले उनी एक सफल हेयर डिजाइनमात्र छैनन् । एक रोजगारदातासमेत बनेका छन् । उनले सात जनालाई रोजगारी दिएका छन् । हाल उनको पार्लरमा पाँच युवा र दुई युवती काम गर्छन् ।

उनले काम सिकाएकाहरू विश्वका विभिन्न देशमा हेयर डिजाइनर भएर काम गरिरहेका  छन् भने केही फर्केर उनकै पार्लरमा काम गर्दैछन् ।

फिल्म निर्देशक शोभित बस्नेतको कपाल काटेपछि फोटो खिचाउँदै जुरी ठाकुर

कोरोनाका कारण व्यवसाय सङ्कटमा

काम गर्दागर्दै चर्चित यति चर्चित हुन्छु भन्ने कहिल्यै सोच्नुभएको थियो भन्ने जिज्ञासामा उनी आफूले नसोचेको बताउँछन् ।  उनी भन्छन्, ‘म गाउँबाट सङ्घर्ष गर्न आएको मान्छे, यसरी कलाकारसँग नजिक भएर काम गर्ने कहिल्यै सपनामा पनि सोचेको थिइनँ । जिन्दगीले डोहोर्‍याउँदै डोहोर्‍याउँदै नसोचेको ठाउँमा पुर्‍याउँदो रहेछ, कल्पना नै नगरेको परिचय दिने रहेछ ।’

कोरोना सङ्कटले पेसाको अवस्था नाजुक बनाएको उनी बताउँछन् । उनले मासिक ५० हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । सातजना कर्मचारी राखेका छन् । यस्तो अवस्थामा आफूलाई अहिले असहज परिरहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘यो बेलामा सबैलाई समस्या छ । जनताको जीवन सहज बनाउन सरकारले अभिभावकत्व बहन गर्नुपर्छ । मैले मलाई चाहिन्छ भनेको होइन, राज्यले पेसा गुमाएकाहरूलाई राहतको व्यवस्था गर्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि