वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
आज एक सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् ।
उनले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दु:खद खबरले स्तब्ध र दु:खित बनाएको उल्लेख गरे ।
'पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । विपतको क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु', मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।