जेठ ०६, २०८१, आइतबार
               

‘फोहर फाले जरिवाना’ सूचनाको मुनी नै फोहरको डुङ्गुर

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहरको डुङ्गुर छ । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहर फालेमा रु एक हजार रुपैयाँ जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ । तर, सोही सूचनाको तल फोहरको डुङ्गुर थुपारिएको छ ।

सफा सडकबाट थोरै माथि व्यास नगर अस्पताल जाने बाटोमा पनि त्यस्तै फोहरको डुङ्गुर छ । बोराका बोरा फोहरको डङ्गुर ल्याएर जथाभावी फालिएको छ । यी दुई ठाउँमा मात्रै होइन, यतिबेला दमौलीका विभिन्न टोलमा पनि फोहरको यस्तै डङ्गुर देख्न सकिन्छ । 

व्यास नगरपालिकाले फोहर विसर्जन गर्दै आएको भतेरी मादी नदीले कटान गरिदिएपछि बजार क्षेत्रबाट फोहर उठाउन समस्या भएको छ । नगरपालिकाले केही दिनअगाडि सूचना नै प्रकाशित गरेर भदौ २७ गतेसम्म फोहर उठाउन नसकिने भएकाले घरबाहिर फोहर ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको थियो तर सर्वसाधारणले उक्त सूचनालाई अटेर गर्दै दमौलीका विभिन्न स्थानमा जथाभावी फोहरको डङ्गुर फालिदिएका छन् ।

नगरपालिकाले फोहर फाल्ने ठाउँको व्यवस्था नभएकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकिएको जनाएको छ । नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख भाग्यशाली ढुङ्गानाले नदीले वर्षौँदेखि फोहर फाल्दै आइएको ठाउँ कटान गरिदिएपछि समस्या उत्पन्न भएको बताए ।

ढुङ्गानाले फोहर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको जानकारी दिँदै दुई दिनपछि फोहर उठाउन सकिन्छ कि भन्ने लागेको बताए । ‘शुक्रबार पनि सोही विषयमा छलफल भयो, व्यास–४ र १० को बीच भागमा फोहर फाल्ने स्थान बनाउनका लागि पनि प्रक्रिया सुरु भइसकेको छ, अन्यत्र पनि ठाउँ खोज्दैछौँ’, उनले भने ।

केही समय अगाडि मादीमा आएको बाढीले भतेरी जाने बाटो र फोहर फाल्ने ठाउँ नै कटान गरिदिएको थियो । लगत्तै नगरपालिकाले अस्थायीरूपमा बाटो बनाएर फोहर फाल्ने ठाउँ बनाएको थियो । तर, उक्त ठाउँ कटान भएपछि भतेरीमा फोहर फाल्न रोकिएको छ । 

व्यास–४ र १० को बीचमा पर्ने माथिल्लो भतेरीमा फोहर फाल्ने ठाउँ बनाउन वडाध्यक्ष विश्वराज न्यौपानेको संयोजकत्वमा वातावरणीय अध्ययन समिति गठन गरिएको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर संकलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ ।

कृषकलाई प्रोत्साहन रकम

तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं ५ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषि पेशामा आबद्ध उत्कृष्ट कृषक छनोट गरी गाउँपालिकाले प्रोत्साहन रकम वितरण गरेको हो ।

वडाध्यक्ष पदमबहादुर थापाले २७ कृषकलाई जनही २० हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिए । कृषि पेशातर्फ कृषकको आकर्षण बढाउन र पेशा गरिरहेकालाई प्रोत्साहन गर्न उक्त रकम वितरण गरिएको थापाले बताए ।

उनका अनुसार बाख्रापालक कृषकलाई १३ हजार रुपैयाँ, कुखुरा र माछापालक कृषकलाई पनि पाँच हजार रुपैयाँका दरले अनुदान रकम वितरण गरिएको छ । 

गाउँपालिकाले केही दिन अगाडि मात्रै वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले प्रत्येक वडाबाट उत्कृष्ट कृषक छनोट गरी कार्यविधिअनुसार प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिए ।

‘कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ’, पौडेलले भने, ‘यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।’ गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ ।

पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६–७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको पौडेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि