जेठ ०४, २०८१, शुक्रबार
               

संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

भक्तपुर । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना संक्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ ।

उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको बिहिबार अनुगमन गरेको हो ।

कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना संक्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताए ।

अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीले कोरोना ‘हब’को रूपमा भक्तपुर अस्पताल सञ्चालन भइरहेको जानकारी गराउँदै अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराइदिन अनुरोध गरे । 

अनुगमन टोलीलाई भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले यहाँको आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिएका थिए । उनले खरिपाटीमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिन नहुँदा नतिजाका लागि धेरै कुर्नु पर्ने भएकाले उक्त मेसिनको व्यवस्था गरिदिन टोलीलाई आग्रह गरे । 

टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आइसियु र पिसिआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो ।

टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना संक्रमण रोक्न र संक्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि