काठमाडौं । चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित नेपाल आयल निगम (थानकोट डिपो) नजिक डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।
आइतबार बिहान करिब ९ बजे सडक मोडमा ना ७ ख ७३९ नम्बर ट्याङ्कर पल्टिएको हो ।
सो ट्याङ्करमा रक्सोल डिपोबाट २० केएल (२० हजार लिटर) डिजेल थानकोट डिपोका लागि ल्याइएको थियो ।
सडकमा मान्छे क्रस गरेपछि बचाउने क्रममा ट्याङ्कर अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए ।
ट्याङ्कर चालक सुरेश बिक सकुशल छन् । चार हजार लिटर डिजेल पोखिएको बताइएको छ ।
ट्याङ्कर पल्टिएपछि आगलागी हुनसक्ने ठूलो दुर्घटना भने टरेको स्थानीयले बताएका छन् ।