जाजरकोट । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य सुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिए ।
डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान सुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले जानकारी दिए ।
पहिलो चरणमा शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । प्रतिपरिवार २५ केजी चामल र पाँच केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाउँपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको डिसहोमका प्रतिनिधि शर्माले जानकारी दिए ।
अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाउँपालिका र अरु स्थानीय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाउँपालिका–४ का अस्मिता नेपालीले खुसी व्यक्त गरिन् । ‘घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताइरहेको थियो, चामल पाएपछि पेट भर्न पाइने भो’, दाताहरुलाई भगवान्को सङ्ज्ञा दिँदै उनले सबैलाई धन्यवाद दिइन् ।
शिवालय गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडा–५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गरिन् । भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ । सत्कार इलेक्ट्रोनिक्स जाजरकोटका प्रोप्राराइटर वसन्तप्रसाद शर्माले ब्यानर र खानबस्नका लागि रु १५ हजार सहयोग गरेका छन् । जुनीचाँदेको खाद्यान्न ढुवानीको जिम्मा गाउँपालिकाले लिएको थियो ।
जाजरकोटबाट सुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि सञ्चालन गरिने अभियानकर्मी नरबहादुर कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्नु नपरोस् भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने, ‘हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौँ, हुनेबाट मागेर नहुनेलाई दिने गरी अभियान थालिएको हो, सबैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो, तपाइँ हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्लो बल्न सकोस् भन्ने अभियानको उद्देश्य हो ।’