असोज ०६, २०८१, आइतबार
               

बङ्गुरपालनमा आकर्षित हुँदै युवा

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

कास्की । कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बङ्गुरपालनमा आकर्षित भएका छन् ।‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बङ्गुरपालन थालेको हो । उनीहरूले पोखरा महानगरपालिका वडा नं ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बङ्गुरपालन सुरु गरेका हुन् ।

क्लब पोखरामा आबद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बङ्गुरपालन सुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताइन् । लामो समयको बन्दाबन्दीका कारण आफूहरूको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने देखेर युवालाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बङ्गुरपालन शुरु गरिएको मोक्तानले बताइन् ।

२० देखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आबद्ध गराई मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनै पनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ । हाल ११५ जना युवा व्यवसायीबाट बङ्गुरपालन सुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिए । युथ कम्युनिटी क्लबले युवालाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने क्बलका अध्यक्ष पूर्ण श्रेष्ठले बताए ।

क्लब स्थापनाको एक वर्षभित्रै त्यसमा पनि बन्दाबन्दीको समयमा आफूहरूले बङ्गुरपालन सुरुआत गरेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको बताए । उनका अनुसार क्लबमा आबद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनीमार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन् । पोखरामा स्थापित युथ कमिटी क्लबले पाँच वर्षभित्र नेपालको सातवटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

हाल क्लबमा ३५० जना सदस्य रहेको भए तापनि एग्रोमा भने ११५ जनाले शेयर राखेका छन् । अन्य सदस्यसमेत थपिँदै गइरहेको जाकारी दिँदै क्लबका कोषाध्यक्ष विकास गुरुङले क्लबमा आबद्ध सदस्यले २५ हजारदेखि एक लाख रुपैयाँसम्म शेयरमार्फत लगानी गर्नसक्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि