असोज ०६, २०८१, आइतबार
               

शुक्लाफाँटामा २५ शय्याको आइसोलेसन सञ्चालन

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो ।

कारोना भाइरस संक्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । '२५ शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ', उनले भने, “बिरामीको सङ्ख्याका आधारमा शय्या सङ्ख्या बढाउँदै लैजाने योजना छ ।’ 

आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० कारोना संक्रमितलाई राखिएको छ । आइसोलेसनमा बस्नेलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ ।

लक्षणविहीन संक्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका संक्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताए ।

नगरपालिकाले यसअघि भारतबाट फर्कनेहरुलाई होम क्वारेन्टाइनमा पठाउँदै आएकामा अबदेखि श्रीकृष्ण माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरी राख्ने भएको छ ।

'भारतलगायत अन्य मुलुकबाट फर्कनेहरुलाई सिधै सीमा क्षेत्रबाट क्वारेन्टिनमा राख्छौँ’, नगरप्रमुख दिलबहादुर ऐरले भने । 

भारतलगायत अन्य मुलुकबाट आउनेलाई नगरपालिकाले यसअघि होम क्वारेन्टाइनमा पठाउँदै आएको थियो । समुदायमा संक्रमण फैलिने खतरा बढेपछि क्वारेन्टाइनको व्यवस्था गरिन लागेको हो ।

नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि