जेठ ०५, २०८१, शनिबार
               

एसइईमा थोरै नम्बर दिएको भन्दै शिक्षकमाथि कुटपिट

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम नम्बर दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ ।

सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका विद्यार्थीले एसइईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीमाथि कुटपिट गरेका हुन् ।

विद्यार्थीहरु लोकविक्रम च्याङ्बा, विवश च्याङ्बा र रामलाल घिसिङ कार्यालयमा आएर प्रअ सुनुवारमाथि कुटपिट गरेको बताइएको छ । त्यसपछि उनीहरुले अर्का शिक्षक भण्डारीलाई लछारपछार पारी कुटपिट गरेका हुन् ।

विज्ञानमा कम नम्बर दिएका कारण माथिल्लो शिक्षा लिन वञ्चित हुनुपरेको भन्दै प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटपिट गरेको शिक्षक मुरारी दाहालले जानकारी दिए ।

विद्यालयबाट ६० जना एसइईमा सहभागी भएकामध्ये ९ जनाको रिजल्ट सी आएको र तीनैमध्येका तीनजनाले कुटपिट गरेका हुन् । 

कुटपिटबाट सुनुवारको अनुहारमा गम्भीर चोट लागेको छ भने  शिक्षक भण्डारीको जिउमा नीलडाम छ । दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । 

घटनाबारे इलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी गराइएको दाहालले बताए ।

शिक्षकमाथि कुटपिट भएपछि शिक्षक–कर्मचारीको बैठकले सुरक्षा माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि