असोज ०५, २०८१, शनिबार
               

प्रेस पासको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

निषेधाज्ञाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासङ्घले चेकजाँचलाई कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जनतालाई सुसूचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै महासङ्घले चेक जाँचलाई कडाइ पार्न प्रहरीलाई आग्रह गरेको हो । 
यस्ता दुरुपयोगले पत्रकारिता पेसाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने पनि महासङ्घको ठहर गर्दै कडाइ गर्न भनेको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाइएको छ ।

प्रेस अत्यावश्यक भएपछि छुट दिइएको छ । तर, प्रेस प्रतिनिधि कार्डको दुरुपयोग भएपछि महासङ्घले कडाइ गर्न भनेको हो । महासङ्घ पत्रकारिता पेसाभन्दा बाहिरका व्यक्तिहरूलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दै महासङ्घले भनेको छ, ‘आमसञ्चारकर्मी र सञ्चार प्रतिष्ठानलाई पनि पेसागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।’

प्रेस पासको दुरुपयोग रोक्न महासङ्घले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ । ‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेक जाँच गर्न, प्रेस पास अधिकाधिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेसागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासङ्घ महानगरीय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ’, महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारबाही गर्न महासङ्घ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ।’


कस्तो लाग्यो ?

यो पनि