बैशाख १७, २०८१, सोमबार
               

रानीपोखरीमा कहिले आउला मेलम्चीको पानी ?

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । 

कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी (लकडाउन) भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । 

९० प्रतिशत काम सम्पन्न

निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

गत जेठको पहिलो सातादेखि नै निर्माणको काम सुरु गरिए पनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको संख्यामा मात्र कामदारले काम गरिरहेका छन् ।

हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । बन्दाबन्दी (लकडाउन) अघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन् । 

पानी राख्न केही समय लाग्ने  

गत साउनको दोस्रो साता नै पोखरी निर्माण सम्पन्न भइसकेको थियो । त्यसमा पानी राख्न केही समय लाग्नेछ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा रािखिएको छ । दीर्घकालिन रुपमा ती पोखरीमा पानी कहाँबट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।  

मेलम्चीको पानी

“रानीपोखरी आसपासबाट बोरिङ्मार्फत पानी ल्याउने तयारी भए पनि स्थानीय र सम्पदा विज्ञहरुको अवरोधले काम अघि बढाउन सकिएको छैन्”, उनले भने, “अब मेलम्चीको पानी राख्ने तयारी छ । त्यसका लागि केही समय कुर्नुपर्छ ।” विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।  

असोजमा पूर्णता

कोरोना भाइरस संक्रमणका कारण केही समय ढिला भए पनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दाबी छ ।    

सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । प्राधिकरणले मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।    

पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । 

इतिहास

राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माण  करीब पाँच वर्षभित्र अर्थात नेपाल सम्वत ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो ।  नेसं ७९० (विसं १७२७/ईसं १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । 

प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाइएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर,उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

स्थलगत अवलोकन

यसैबीच, शुक्रबार सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानीपोखरीको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री र मेयरको टोलीलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले अधिकांश काम सम्पन्न भएको जानकारी गराएको थियो।


कस्तो लाग्यो ?

यो पनि