असोज ०६, २०८१, आइतबार
               

योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्यक्रम तयार गरिएको बताए ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रको मौलिकता, विषयवस्तुका आधारमा पाठ्यक्रम बनाउने अधिकार छ, त्यसअनुसार तयार गरिएको छ, तयार गरिएको पाठ्यक्रम विद्यालयमा लागु गछौँ’, उनले भने । नगरपालिकाको कार्यपालिकाले केही दिन अघि स्थानीय पाठ्क्रम स्वीकृत गरी लागू गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विकासका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

नगरपालिकाले दुई किसिमका पाठ्यक्रम निर्मा ण गरेको उनको भनाइ छ । ‘योग शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘एकीकृत पाठ्यक्रममा नगरको कृषि, धार्मीक क्षेत्र, संस्कृति, स्थानीय सम्भावनालगायत विषय समेटिएको छ ।’ नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । योग शिक्षा कक्षा १ देखि कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई पढाइने उनले बताए । नगरपालिकाको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, वन, कृषिलगायतलाई समावेश गरी तयार गरिएको एकीकृत स्थानीय पाठ्यक्रम आधारभूत तहका विद्यार्थीलाई पढाइने छ ।

विद्यालय सञ्चालन भएपछि योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइने शिक्षा शाखा प्रमुख जोशीले बताए । चालु शैक्षिक सत्रदेखि यहाँका विद्यालयमा कक्षा १ का विद्यार्थीलाई योग शिक्षा विषय पढाई हुने उनको भनाइ छ । राष्ट्रिय पाठ्यक्रम, २०७६ मा भएको व्यवस्थाअनुसार भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने तयारी गरेको हो । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णांकको हुनेछ ।

पाठ्यक्रममा भीमदत्तको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापनलगायत विषयलाई समावेश गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माणको तयारी पूरा गरेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिलाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए । 


कस्तो लाग्यो ?

यो पनि