असोज ०६, २०८१, आइतबार
               

भरतपुरको खानेपानी वितरणमा समस्या

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।

‘ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताए । ‘निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ’, उनले भने, ‘खानेपानी मर्मत गर्ने पलम्बर कर्मचारी सिमित छन् । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ’, उनले भने । यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको उनले बताए । 

‘फोनबाट गुनासो गर्नेहरु धेरै हुनुहुन्छ’, दाहालले भने, ‘पानी फुटेर खेर जाने ठाउँलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।’ दैनिक चार–पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको उनले बताए । यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको उनको भनाइ छ ।

बोर्ड अन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर  कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ ।

विसं २०३२ देखिका जिर्ण पाइप भएकाले पनि पटक–पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन् । ‘यस वर्ष विस्तार गर्ने योजना थियो’, दाहालले भने, ‘कोरोनाका कारण काम गर्न सकिएको छैन् । यसबाहेक भरतपुर महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ ।

बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि