जेठ ०३, २०८१, बिहीबार
               

५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।

प्याब्सनका अनुसार स्थानीय तहबाट स्वीकृति लिएर सञ्चालन हुने मन्टेश्वरीदेखि माध्यामिक विद्यालय तहसम्म पठनपाठन हुने समेत गरी हाल करिब १० हजार शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । तीमध्ये कतिपय बन्द भइसकेका छन् । कतिपय भने विद्यालय खुलेपछि हुने व्ययभार धान्न नसक्ने अवस्था भएर फेरि नखुल्ने अवस्थामा छन् । 

प्याब्सनका अध्यक्ष टीकाराम पूरी घरभाडा, शिक्षक र कर्मतारीको खर्च, अरु सञ्चालन खर्च र बैंकको ब्याज तिर्न नसक्ने अवस्थाका कारण ५० प्रतिशत विद्यालय अब खुल्नै नसक्ने हो कि भन्नेमा पुगिसकेको बताउँछन् । कोभिड लम्बिँदै जाँदा त्यस्तो संख्या अझै बढ्नसक्ने उनको भनाइ छ ।  

देशभर कोरोना संक्रमण फैलिन थालेपछि सरकारले मानवीय गतिविधिलाई थप कडाइ गर्दै गएको छ । यसअघि भदौ १ गतेदेखि खुल्ने भनिएको शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।

सरकारको यो निर्णयसँगै यसअघि भदौ लागेपछि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएका विद्यालयको योजनामा ब्रेक लागेको छ । विद्यालय सञ्चालकहरु यतिबेला थप निराश बनेका छन् । भदौदेखि पठनपाठन हुन नपाएपछि अब दशैं तिहारअघि विद्यालय खुल्ने सम्भावना टरेको विश्लेषण उनीहरुले गर्न थालेका छन् । यसो गर्दा करिब ७ महिनाको समय खेर जान्छ । 


कस्तो लाग्यो ?

यो पनि