असोज ०६, २०८१, आइतबार
               

अछाममा १२ जनाको शव फेला, पाँच जनाको खोजी हुँदै

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

अक्षाम । गएराति करीब एक बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । 

रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए  ।

उनले भने , 'सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या हुँदै आएको छ ।'

नेपाली सेनाको एआइ १७  हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए । 

उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन । गए राति ठूलो वर्षात्का कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए ।

उनले भने, 'बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दै छौँ ।'
 


कस्तो लाग्यो ?

यो पनि