बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्त्येष्टि

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । 

यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन भन्ने स्थानमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निवासमै निधन भएको थियो ।

घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन् । स्वर्गीय घिमिरेका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्यहरु सिर्जना भएका छन् ।

नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा घिमिरेले कलम चलाएका छन् ।

उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह छन् । ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’जस्ता गीतहरुको घिमिरेले रचना गरेका हुन् ।

उनका गीतहरुमा स्वरसम्राट् नारायणगोपालदेखि तारादेवी सम्मले स्वर दिएका छन् । उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए ।

यो पनि