सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका पुरिएकामध्ये सोमबार थप तीन जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार हालसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, आठ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङको शव फेला परेको हो ।
यस्तै, पाँच वर्षकी प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, चार महिनाका रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, सात वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ, ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ र १० वर्षका सुरज दोङको शव फेला परेको प्रहरीले जनाएको छ।
आज बिहान थप तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता ३९ जनामध्ये अहिलेसम्म २२ जनाको शव भेटिएकोमा १७ जना अझै बेपत्ता छ ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी माधवप्रसाद काफ्लेले बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरेको जानकारी दिए ।