असोज ०५, २०८१, शनिबार
               

१०घर उच्च जोखिममा

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

दिपायल सिलगढी नगरपालिका–८ मा पर्ने कटना गाउँका दलित बस्तीका १० घर पहिरोको उच्च जोखिममा छन् । लगातार परिरहेको वर्षाका कारण बस्तीमाथिबाट खनिएको सडकमा पर्खाल नहुँदा सडक माथिबाट ठूला ढुङ्गा र माटो दिनहुँ खस्न थालेपछि बस्तीका ती घरहरु जोखिममा परेका हुन् । 

वर्षातले सडकमा भएका माटो र ढुङ्गा दैनिक घरमा खस्न थालेपछि आफ्ना घर भत्किन थालेको र अन्य घर पनि जोखिममा रहेको स्थानीयवासी धनवीर कामीले बताए । कम्तीमा पनि ३० घरपरिवार दलितबस्ती रहेको उक्त गाउँमा दैनिक सडकको पहिरो आउन थालेपछि स्थानीयवासी त्रासमा रात बिताउन बाध्य छन् । 

आकाशमा बादल लाग्दा होस् वा सामान्य पानी पर्दा उक्त गाउँका दलित परिवारलाई वर्षाले घर भत्किने हो भन्ने त्रास हुने गरेको छ । पहिरो व्यवस्थापनका लागि पटकपटक सम्बन्धित निकायलाई समस्या दर्साउँदा कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले सडकको पहिराले जोखिममा परेका कटना गाउँका दलित परिवारको समस्या समाधानका लागि पहल भइरहेको बताए । 

जिल्लाका विभिन्न २२ स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ । 

जोखिममा रहेका स्थानको पहिचानका आधारमा विभिन्न सङ्घसंस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । सम्भावित दैवी प्रकोपका घटनालाई मध्यनजर गर्दै जिल्लामा विपद् पूर्वतयारीका विभिन्न कार्य पनि गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

विपद् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घसंस्थालाई सम्भावित प्रकोप भई हाल उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि