काठमाडौं । विदेशका विभिन्न मुलुकमा विविध कारणबाट मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।
१७२ जनाको भने गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको पनि संघले जनाएको छ ।
यसैगरी, संघले कोभिड १९ संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको जनाएको छ । संघका अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ ।
संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको मृत्यु भएको हो ।
हालसम्म ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । ८३ प्रतिशत अर्थात् ती मध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।