असोज ०५, २०८१, शनिबार
               

करार कर्मचारीको भरमा कार्यालय सञ्चालन

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

तनहुँ । समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  ।

कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुर्नुपर्ने बाध्यता भएको छ  । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ अहिले करार कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । कार्यालयमा हाल रहेका छ कर्मचारीमध्ये कार्यालय प्रमुख मात्रै स्थायी कर्मचारी छन् भने बाँकी सबै करारका कर्मचारी छन् । 

सात जनाको दरबन्दी रहेको सो कार्यालयमा छ जना कार्यरत रहेका छन् । त्यसमा पनि कार्यालय प्रमुखबाहेक सबै करारका कर्मचारी रहेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्यालय सहयोगी दुई, पाँचौँ तहका एक, चौथो तहको एक र एक उद्योग वाणिज्यतर्फका गरी पाँच करारका कर्मचारी छन् ।  

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले भने, “सरकारले कर्मचारी समायोजनको प्रक्रिया थालनी गर्नु तथा कोरोनाको सङ्क्रमणले गर्दा कर्मचारी अभाव हुने अवस्था आएको छ ।”  गण्डकी प्रदेश सरकारलाई हालै दरबन्दीको सङ्ख्या बढाउन र  कर्मचारी पठाउन माग गरी पत्रचार गरिसकिएको उनले बताए ।

तनहुँमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार २७१ नयाँ उद्योग दर्ता भएका छन् । हालसम्म नौ हजार १६० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । कृषिसँग सम्बन्धित उद्योगलाई प्राथमिकता दिएर तीन तहका सहकारबाट विभिन्न अनुदानको व्यवस्था भइरहेकाले त्यस्ता उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको प्रमुख ढकालको भनाइ छ- “उद्योग नवीकरण गर्नेको पनि यहाँ भीड नै लाग्ने गरेको छ”, उनले भने, “कर्मचारीको अभावको कारण सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रवाह गर्न सकिएको छैन ।” 

कामको चाप हेर्ने हो भन्ने यहाँ दरबन्दीभन्दा दोब्बर कर्मचारीको आवश्यकता रहेको प्रमुख ढकालको भनाइ छ । “दरबन्दीभन्दा पनि एक जना कर्मचारी कम छन्, ती पनि म बाहेकका सबै करारका छन्”, उनले भने । दिनहुँ झण्डै १०० सेवाग्राही कार्यालय आउने हुँदा भीड व्यवस्थापन गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि