डोटी । पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि बोहराले जानकारी दिए ।
भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो ।
वर्षातका कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताका डा ज्योति पाण्डेले बताए ।
सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने पूर्वीचौकी गाउँपालिकाका चक्रबहादुर कठायतले बताए ।
उनले भने, “बसको सिट क्षमताभन्दा बढी यात्रु छन्, बाटो पनि वर्षातले खराब भएका कारण दुर्घटना भएको हुन सक्छ ।”
प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए ।
कैलालीदेखि डोटी पुग्दासम्म उक्त बसका चालकले ट्राफिक प्रहरीको चेकप्वाइन्टमा यात्रु सङ्ख्या घटाई इण्ट्री गरेको र उक्त बससँग अछाम जानका लागि जिल्ला प्रशासन कार्यालयको सवारी चलाउने अनुमतिपत्र पनि नभएको बताइएको छ ।