असोज ०५, २०८१, शनिबार
               

कर्णालीमा पानीको सतहले नाघ्यो, स्थानीय त्रासमा

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

टीकापुर । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उनले बताइन् । उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन् । ‘नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ’, गेजरिडर गुरुङले भनिन्, ‘मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।’

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । ‘हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ’, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भने, ‘उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ ।’ 

बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न सुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताए । ‘सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ’, ढुङ्गानाले भने, ‘यसपटक बाढीले तहसनहस पारेको छ । नागरिकको बिचल्ली भएको छ ।’ चिसापानीमा कर्णाली नदीको सतह ९ मिटर पुगे सतर्क, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ । 


कस्तो लाग्यो ?

यो पनि