काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को यही साउन २५ गतेको विवरणअनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन् । आज थप ८४९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल फर्किएका यात्रुसहितको सङ्ख्या जोड्दा हालसम्म ४९ हजार ६८१ नेपाली स्वदेश फर्किएका हुन् ।
विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २३९ र दोहाबाट १५१ नेपाल काठमाडौं ल्याएको छ ।
हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै फलाइ दुबई १५४ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालयको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले जनाएको छ । मङ्गलबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।