बैशाख २४, २०८१, सोमबार
               

स्क्रब टाइफसका बिरामी बढ्दै

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाको कहरले त्रसित बनाइरहेका बेला स्क्रब टाइफसले पनि समुदायमा आफ्नो वर्चस्व बढाउँदै गएको छ । 

बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको छ । 

स्क्रब टाइफसलाई प्राणघातक सङ्क्रमणका रुपमा लिइन्छ  । यही साउन महिनामा बग्लुङमा तीनजनामा सो रोग देखा परेको छ । 

बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको हो ।

हाल उनी धौलागिरि अस्पतालमा उपचाररत छिन् । 

यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको  छ ।

 दुवैजना अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।बागलुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए । 

के हो, स्क्रब टाइफस रोग ?

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणका कारणले लाग्छ ।

यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ ।

रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ ।

केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि  देखिन थालेको छ । 

नेपालमा भने यो रोग मुसाले सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

 के हुन्छ, यो रोग लाग्दा ?

स्क्रब टाइफस भएका मानिसमा उच्च ज्वरो आउने र कामज्वरो  आउन सक्दछ ।

टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिमिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् ।

रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्यु हुन सक्छ ।

यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि