बैशाख १८, २०८१, मंगलबार
               

झापुटार–चालिसे सडक अवरुद्ध

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो ।

पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । ‘झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्’, उनले भने, ‘कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरा झरेर समस्या भएको छ ।’

उनका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । ‘झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो’, उनले भने । ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरो हटाएर एक–दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष रानाभाटले जानकारी दिए । 

तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ । तर, पैदल हिँड्नका लागि भने कुनै समस्या छैन । ‘पैदल हिँड्नका लागि छोटो दूरीको बाटो छ, सवारी साधनमा जाने सर्वसाधारणलाई भने बाटो बन्द भएका कारण समस्या भएको छ’, उनले भने । 


कस्तो लाग्यो ?

यो पनि