जेठ ०५, २०८१, शनिबार
               

प्रहरी र प्रदर्शनकारीबीच झडप, नगरपालिका तनावग्रस्त

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

उदयपुर । कोरोनाको उच्च जोखिमका रुपमा रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ  ।  नगरपालिका तनावग्रस्त बनेको छ ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले बताए ।

प्रहरी निरीक्षक सिंहका अनुसार झडपका क्रममा एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको छ ।

झडपमा सत्तारुढ नेकपाका कार्यकर्तासमेत भएकाले मुठभेट भएको स्थानीय भरत घिमिरेको भनाइ छ । सयौंको संख्यामा विपक्ष दलका कार्यकर्ताले नगरपालिका अगाडि प्रदर्शन गरिरहेका थिए । 

केही दिनअघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनामा माग गरेपछि विपक्षी कांग्रेससहित विभिन्न दल आन्दोलित बनेका हुन् । 

पछिल्लो समयमा बेलकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । ३ दिन पहिले मात्र २ जना नगरका व्यवसायीलाई कोरोना लागेपछि नगरपालिकाले बजार पसल बन्द गराएको थियो । सो नगरपालिकामा २४ जना कोरोना संक्रमित भएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि