काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी वर्षा भएको छ ।
विभागको बाढी सूचना केन्द्रले विहान साढे ६ बजे जारी गरेको सूचनाअनुसार कैलालीफ र कञ्चनपुर आसपासका क्षेत्रमा ३ घण्टासम्म भारी वर्षा भएको छ । ती क्षेत्रका चौधर, सुहेली, सहजपुर, महरा लगायतका खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।
सर्लाही, महोत्तरी, धनुषा र सिरहामा पनि ३ घण्टासम्म भारी वर्षा भएकाले लखनदेही खोला, जिम खोला, हार्दि खोला महाराखोला तथा आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ ।
यस्तै आज कोशी,नारायणी,महाकाली, कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिम राप्ती, बबईका केही स-साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव पनि आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आह्वान गरिएको छ ।
विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’