असोज ०७, २०८१, सोमबार
               

निषेधाज्ञा र लकडाउनका कारण घरमै मनाइयो बकर इद

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद (इदुल जोहा)’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।

देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने आशामा बसेका सप्तरीका इस्लाम धर्मावलम्बीले सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण घरमै पर्व मनाएका छन् ।

धेरै जनाले घरमै बकर इद पर्व मनाइरहँदा राजविराज नगरपालिका– ४ स्थित जामे मस्जिदमा फाटफुट पुरुष मात्र नमाज पढन पुगेका थिए । तीन हजारसम्म अटाउनसक्ने सो मस्जिदमा सामाजिक दूरी कायम गरी ६०/६० जनाका दरले दुई सिफ्टमा नमाज पढिएको राजविराज–४ का सरफराज अन्सारीले बताए ।

जिल्लाभरीकै इस्लाम धर्मावलम्बी आउनसक्ने सो जामे मस्जिदमा यो वर्ष राजविराज– ४ का सीमित मानिस मात्र रहेको उनले बताए । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पाहुना, अतिथिको उपस्थितिविना नै बकर इद मनाइएको राजविराज नगरपालिका– ११ झल्हीका इमरान अलीले बताए । 

यसअघि बकर इदमा अन्य धर्म, जातिका साथीभाइकोसमेत उपस्थितिमा खानपिन गरेर रमाइलो हुने गर्दथ्यो । तर यस वर्ष इद झैं बकर इद पनि इष्टमित्रविना मनाउनुपरेको अलीले बताए । सप्तरीको शम्भुनाथ नगरपालिका–२ का अनवर अलीले भने, “देशभरी लकडाउन खोलिँदा शम्भुनाथ नगरपालिकामा बिहीबारदेखि लकडाउन पुनः कडा पारिएकाले बाहिरका कसैलाई पनि बोलाइएन, परिवारका सीमित व्यक्ति बसेर मनायौँ ।”

“कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्थानीय तह र स्थानीय प्रशासनले भेला, जमघट हुन रोक लगाएका कारण पर्व मनाउने शैलीमा फेरबदल गरिएको हो”, सरफराज अन्सारीले भने, “भेला, जमघट नभए पनि कुर्बानी (बलिदान) को मासु तीन भागमा बाँडेर खायौँ । नमाज पढेर आएपछि खसीको बलि दिएको बताएका अन्सारीले थपे, “काटिएको खसीको १८ किलोलाई तीन भाग लगाई एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाइरहेका छौँ ।”

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तर कोरोनाको कहरले अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज–४ का शेरु खानले बताए । अङ्कमाल र हात मिलाउनुको साटो अब अदाब गरेर शुभकामना आदानप्रदान गर्न थालिएको खानले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकाले घरमै मनाइएको कल्याणपुरका ऐयुव राइनले बताए ।


कस्तो लाग्यो ?

यो पनि