असोज ०७, २०८१, सोमबार
               

गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

 चितवन । चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । गाई थलिएपछि परिक्षण गर्दा  दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएपछि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।

गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।

शुरुआतमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए । अहिले खैरहनी र रत्ननगर नगरपालिकाका गाईमा पनि यो रोग देखिएको छ ।

यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताए । उनले भने, ‘असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाह प्रदान गरेका छौँ ।’

कार्यालयले रोगबाट सङ्क्रमित घरधुरी र गाईको सङ्ख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले बताए ।

कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरेको उनले जानकारी दिए । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक–दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ ।

केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन ।

गाईमा देखिएका रोगका लक्षण

यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, हड्डी र छालामात्र देखिने,  रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । गाईलाई शरीरभरि घाउ आएर उठ्न र बस्नसमेत समस्या हुने गरेको छ ।

प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाएका छन् । पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए। नगरका अधिकांश किसानका गाईको नमूना सङ्कलन गरिएको छ ।

यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उनले बताए । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ ।


कस्तो लाग्यो ?

यो पनि