कात्तिक १६, २०८१, शुक्रबार
               

मध्यपहाडी लोकमार्गको बेहाल

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

गलकोट । कालोपत्र हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । वर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । 

राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ ।

वर्षाभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुविरबहादुर क्षेत्रीले बताए ।

जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्र नहुँदा बर्खाको समयमा सास्ती खेप्नुपरेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि ग्राभेलको तयारी भए पनि सदरमुकामसम्म जोडिएको उपल्लाचौर–अक्षेते खण्डमा निर्माण कम्पनी सम्र्पकमा छैन । 

नेपालको पूर्वपश्चिम जोड्ने पहाडी मार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको विसं २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी विसं २०७३ मा सम्झौता भएको थियो । तर, समयमा सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको स्थानीयवासी बताउँछन् ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टाभनन्दा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताए ।

‘सडक जीर्ण र हिलाम्मे भएका कारण सवारी चलाउनै मुस्किल छ’, रोकाले भन्नुभयो, “बाटो राम्रो नभएपछि दैनिक गाडी बिग्रने गर्छ,  आम्दानीभन्दा खर्च धेरै हुन्छ, न समयमै पुग्न सकिन्छ ।’ बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्डो पर्ने कारण सास्ती भएको हो । निर्माण कम्पनीले बन्दाबन्दीको बहानामा सडक निर्माणमा नलाग्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ ।

पटक–पटक संसद्देखि विभिन्न स्थानमा लोकमार्गको ढिलाइका विषयमा ध्यानार्कषण गर्दासमेत सुनुवाइ नभएको बागलुङका संघीय सांसद डा. सूर्य पाठकले बताए । अलपत्र बनेको सदरमुकाम बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्शन र बिहुँदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा सूर्य कन्स्ट्रक्शनले लिएको छ । 

कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बिहुँ खण्डमा सन्तोषजनक काम भए पनि तल्लो खण्डमा ठेकेदार कम्पनीले काम गर्न नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि