जेठ ०६, २०८१, आइतबार
               

महामारीमा हतारिँदै टियू

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ।

सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत सञ्चालन गर्ने निर्णयमा टेकेर विश्वविद्यालयले भदौको दोस्रो साताबाट स्नातक तह र विस्तारै अन्य विभिन्न परीक्षाहरु सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

त्रिविले परीक्षाको तयारी गरेपछि लकडाउनका कारण गृहजिल्लामा पुगेका विद्यार्थीहरु अहिले अन्योलमा छन्। सरकारले लकडाउन अन्त्य गर्दै १ गतेबाट लामो दुरीको यातायात खोल्ने अनुमति दिएको छ। तर जोखिम घटेको छैन बरु बढेको बढ्दै छ। अझ बाढी पहिरोको प्रकोप पनि थपिएको छ। तर त्रिविको हतारो हेर्दा लाग्छ विश्वविद्यालयलाई 'हेल्थ इज वेल्थ' भन्दा पनि ‘विद्या धनम् सर्वधर्मम प्रधानम्' को पक्षमा छ। र, कोरोना महामारी र प्राकृतिक विपतलाई हेर्दै नदेखे जस्तो गर्दै परीक्षा अघि बढाउन लागिपरेको छ।

सरकारले लकडाउन अन्तय गरेपनि अझ केही जिल्लामा कोरोनाको संक्रमण अनियन्त्रित हुने देखिएर निषेधाज्ञा नै जारी गरिएको छ। यस्तो अवस्थामा देशका विभिन्न स्थानमा रहेका विद्यार्थी एकैपटक ह्वार्ह्वार्ती काठमाडौं आउने र परीक्षा दिन भेला हुने हो भने जोखिम अझ बढ्ने देखिन्छ।

साउन ९ गते प्रकाशित त्रिभुवन विश्वविद्यालको व्यवस्थापन संकायको सूचना बमोजिम स्नाकोत्तर तहको परीक्षा साउन भदौको दोस्रो हप्ता र स्नातक तहका विभिन्न परीक्षाहरु तेस्रो साताबाट सञ्चालनमा ल्याउने उल्लेख छ।

'नेपाल सरकारबाट भाद्र १ गतेदेखि लामोदुरीको यातायात समेत सञ्चालन गर्नेगरी लकडाउन खुला गर्ने निर्णय गरेकाले यस संकायबाट स्थगित गरिएका स्नाकोत्तर तहका परीक्षाहरुको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौं तथा सातौ तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ।' साउन ९ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तोमा जिल्ला पुगेका विद्यार्थीहरु अन्योलमा छन्। 'कोभिड १९ संक्रमणको जोखिमबाट बच्न सक्ने सुरक्षाको निश्चितता के छ? यस्तो त्रासदीको बीचमा विद्यार्थी को मनोबैज्ञानिक अवस्थाको स्थिति कस्तो होला? यात्राको क्रममा ठेल मठेल र हुल मुल बाट के ऊ चोखो रहन सक्ला?' त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै आइतबार नेपाल प्राध्यापक संघले भौगोलिक जटिलता र अहिलेको अवस्थामा असम्भव रहेको भन्दै विश्वविद्यालयको परीक्षा संचालन गर्ने निर्णयलाई तत्काल पुनर्विचार गर्न माग राखेको थियो।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले भने दैनिक सम्भावित जोखिमलाई हाइलाइट गर्न छुटाएको छैन। अझै पनि सकेसम्म अत्यावश्यक अवस्था बाहेक घरभित्रै बस्ने र सामाजिक दुरी कायम राख्नेमा जोड मन्त्रालयको छ।

'दिनहुँ केस आइरहेका छन्। जोखिम यथावत नै रहेको छ। अनुहार हेरेर कसलाई कोरोना छ वा छैन भन्न सकिँदैन। कतिपय संक्रमितहरुमा लक्षण पनि देखिँदैन। त्यसैला हामी सावधानी अपनाउनु पर्ने हुन्छ,' आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने।

मन्त्रालय अझै सतर्क रहन भन्दैछ । त्रिवि भने परीक्षा गराउने सुरसारमा छ।


कस्तो लाग्यो ?

यो पनि