असोज ०६, २०८१, आइतबार
               

‘ठूलाचौरका दलित बस्तीमा दुःखका दिन गए’

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उहाँको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो ।

समुद्री सतहबाट करिब २०० मिटर उचाइमा रहेको यस बस्तीमा सुरुदेखिकै मुख्य समस्या भनेको खानेपानी र बिजुली नै थियो । प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्धता र आश्वासन पनि यिनै कुरामा हुन्थे । तर, दलको प्रतिबद्धता कहिल्यै पूरा भएन ।

गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए । बल्लतल्ल बिजुली भने केही वर्ष अगाडी बल्यो, तर पानीको समस्या भने उस्तै । बस्ती केही उचाइमा भएका कारण खानेपानीको मूल नजिकै थिएन । छलिमाया विगतको दुःख सम्झँदै भने, 'बस्तीभन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपथ्र्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो, पानीकै लागि घण्टौँ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो ।'

तर ५२ वर्षपछि घरमै खानेपानीको धारा देख्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ । 'घामपानी नभनी पचासौँ वर्ष घण्टौँ लगाएर पानी बोकेको दुःखका दिन अब गए', उनले भने, 'अहिले त घरमै धारा आइपुगेको छ, योभन्दा खुशी अरु के होला र ।' आफूले जीवनभर पानी बोक्दै छोरा नाति हुर्काएको भए पनि अबका पुस्ताले भने सुख पाउने उनले बताए ।

बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताए । 'खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पथ्र्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे', उनले भने, 'विगतमा यहाँका बासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिएजस्तै भएको छ ।'

खानेपानीको माग गर्दै स्थानीयवासी विगतमा पटक–पटक सम्बन्धित निकायमा डेलिगेशन नगएका होइनन् । तर, मूलको समस्या देखाउँदै स्थानीयको माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेन । 'गाउँकै अगाडि गुणादी खोला पानी बगिरहेको देखिन्थ्यो, तर गाउँ काकाकुल थियो', उनले भने ।

म्याग्दे गाउँपालिकाको ९ लाख २५ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारको दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको ६ लाख २५ हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँको लागतमा ठूलाचौरका घरघरमा धारा जडान गरिएको छ ।

तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ । योजनाबाट यहाँका करिब ३०० लाभान्वित भएका छन् । योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई-दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याइएको छ ।

यहाँको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा बाबुराम खनालको अध्यक्षतामा खानेपानी समिति दर्ता गरिएको थियो । तर पनि योजनाले लामो समयसम्म गति लिन सकेन । पछि विसं २०७४ मा प्रारम्भिक योजना शीर्षकमा म्याग्दे गाउँपालिकाबाट एक लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त समयमा हिमा खनाल समितिको अध्यक्ष थिए भने त्यस अगाडि नारायणदत्त खनाल थिए ।

लगत्तै विसं २०७५ लमा म्याग्दे गाउँपालिकाबाट पुनः योजनाका लागि चार लाख रुपैयाँ बजेट विनियोजन भयो । उक्त रकमबाट खानेपानीको कामले केही गति पायो । त्यसबीचमा समितिको नेतृत्वमा कृष्णराज खनालले गरे । योजनाकै लागि विसं २०७६ मा पुनः गाउँपालिकाबाट चार लाख २५ हजार बजेट विनियोजन भएको थियो ।

सोही वर्षमै गण्डकी प्रदेश सांसद आशा कोइरालाको पहलमा गण्डकी प्रदेशबाट चार लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट दश हजार घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको समितिका सचिव विकास खनालले जानकारी दिए ।

- कृष्ण न्यौपाने, रासस


कस्तो लाग्यो ?

यो पनि