जेठ ०७, २०८१, सोमबार
               

बाग्मती प्रदेशले सुरु गर्यो इम्बोस्ड नम्बर प्लेट वितरण

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

वाग्मती प्रदेशअन्तर्गतका सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले शुक्रवार संयुक्त रूपमा टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरबाट  इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेका हुन् ।

डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रूपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनाअनुसार सरकारका तर्फबाट प्रक्रिया अघि बढेको मन्त्री नेम्वाङले बताए । सुरुवातमा केही कानुनी समस्या रहे पनि अब कार्यान्वयन आउने उनको भनाइ छ । केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य हुने उनले जनाए  ।

देश संघीयतामा गएसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवारी दिएको मन्त्री नेम्वाङले बताए । यातायातलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ । सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनले बताए ।

यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास मन्त्री फुयाँलले व्यक्त गरे । सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजस्व चुक्ता गर्नुपर्ने बताइएको छ । विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्ने बताइएको  छ । त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बर प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ ।

इम्बोस्ट नम्बर प्लेटका लागि दुईपाङ्ग्रे सवारी साधनका लागि दुई हजार ५०० रुपैयाँ, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार २०० रुपैयाँ र ठूला सवारीका लागि तीन हजार ६०० रुपैयाँ राजस्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गरी नम्बर प्लेट लिन सकिने बताइएको छ।


कस्तो लाग्यो ?

यो पनि