जेठ ०६, २०८१, आइतबार
               

दार्चुलाको सशस्त्र गुल्म छाङरुमा सारिँदै, बीओपी कालापानीमा राख्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

दार्चुला । सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ। जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो ।

असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ ।

बैठकले वैशाख ३१ गते स्थापना भएको छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)लाई कालापानी नजिकै कौवा भन्ने ठाउँमा सार्ने निर्णय पनि गरेको छ। यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए ।

निर्णयअनुसार अब कालापानीबाट ३ किलोमिटर वर माथिल्लो कौवामा बीओपीमार्फत नेपाली सुरक्षाकर्मीको बलियो उपस्थिति हुनेछ । अहिले त्यहाँ छाङरुबाट गस्ती हुने गरेको छ ।

कौवासम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ। अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन ।

त्यसैगरी चीनसँग सीमा जोडिएको तिङ्करमा पनि बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । जहाँ अहिले छाङरुबाटै सशस्त्रले गस्ती गर्दै आएको छ ।

सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो । खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि