मंसिर ०७, २०८१, शुक्रबार
               

किसानले बारम्बार जनप्रतिनिधि र अतिथिलाई किन तरकारीको माला लगाइदिन्छन् ?

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कालिकोट रास्कोट नगरपालिका–९ का किसानले बिहीबार अतिथिलाई बन्दागोभी र स्याउको माला लगाएर स्वागत गरेका छन् । 

लगाएको बाली बिक्री नभई बारीमै कुहिने समस्याबाट आजित भइरहेका  रास्कोट नगरपालिका–९ ताम्ती र कागेझार गाउँका किसानले  बिहीबार अनुगमनमा आएको मौका छोपी नगरपालिकाका कर्मचारी तथा अन्यलाई तरकारी र फलफूलको माला लगाएर स्वागत गरेका हुन् । 

तरकारी बाली तथा अन्य बाली बिक्रीमा समस्या भएकाले बजारीकरण सहज बनाउन र उत्पादन वृद्धिमा ध्यान पुगोस् भनेर अनुगमनमा आएका नगरपालिकाका पदाधिकारी तथा कर्मचारीलाई बन्दागोभीको माला लगाएर स्वागत गरिएको उनीहरुको भनाइ छ । 

स्वागतपश्चात उनीहरुले आफूहरुले अर्गानिक बालीको उत्पादन गरेको कृषि बालीको बजारीकरणको माग गरेका थिए । 

दाङमा पनि तरकारीको माला 

यसअघि  दाङको बबई गाउँपालिका–५ का विपन्न समुदायका महिलाहरुले गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित अतिथिलाई पनि तरकारीको माला लगाइदिएका थिए । 

 

धादिङमा पत्रकार र अतिथिलाई तरकारीको माला

त्यसैगरी २०७५ जेठमा धादिङका किसानले पनि जनप्रतिनिधि र सरकारी कर्मचारी लाई किसानले खुर्सानी, करेला, गोलभेंडा, आलुको माला लगाएर स्वागत गरेका थिए ।

उनीहरुले २०७४ साल माघदेखि गाउँमा दुई समूह निर्माण गरी अर्गानिक तरकारी खेती गरिरहेका उनीहरुले तरकारी यथेष्ठ रुपमा बिक्री नभएको गुनासो  गरेका थिए । 

जग्गा भाडामा लिई अर्गानिक खेती प्रणाली अवलम्बन गरेका महिलाहरुले अर्गानिक तरकारी बिक्री गर्न बजार नपाई मूल्यमा ठगिनु परेको र  अर्गानिक तरकारी बेच्न लैजाँदा पनि  व्यापारीले अनेक शंका गरी हतोत्साही बनाएर अन्य तरकारी जस्तै गरी बिक्री गर्न बाध्य पार्ने गरेको स्थानीय किसानको गुनासो थियो । 

नेपालको अवस्था 

सरकार वर्षेनीका नीति तथा कार्यक्रममा तरकारी, फलफूलजन्य खाद्यन्नमा आत्मनिरभर हुने भनी समाहित गरिरहन्छ र रटिरहन्छ । तर, नेपाली बजारमा भने भारतीय तरकारी तथा फलफूलकव बाहुल्यता छ । बिचौलियाका कारण नेपाली किसानले हरेक वर्ष आफूले उत्पादन गरेको तरकारी तथा फलफूल नष्ट हुँदै गएको कुरा बताइरहेका छन् । 

नेपाली किसान भने आफूले उत्पादन गरेको तरकारी बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमै ट्रयाक्टरले जोतेर तरकारी नष्ट बाध्य छन् । 

यसअघि नेपाल विद्यार्थी संघले पनि भारत भारतबाट आयातित तरकारी तथा फलफूलको विषयलाई लिएर आन्दोलन गरेको थियो ।  तत्कालीन अवस्थामा उनीहरुले  भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा अत्यधिक विषादी रहेकाले विषादी जाँच गर्न माग गर्दै आन्दोल  गरेका थिए । यसका अलवा उनीहरुले तरकारीमा आत्मनिर्भर हुन सरकारले कदम चाल्नुपर्ने माग पनि राखेका थिए । 

तर, यो विषय समय क्रमसँगै विस्तारै सेलाउँदै गइरहेको छ । अहिलेसम्म नेपालले तरकारीमा आत्मनिर्भर हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि