काठमाडौं । दुई वर्षअघि कञ्चनपुरमा बलात्कारपछि हत्याकाण्डको घटना छानबिनमा प्रहरी पुन: लागेको छ । शैलेश थापा क्षेत्रीले प्रहरी प्रमुखको कार्यभार सम्हालेलगतै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
दुई दिनपछि साउन १० गते यस घटनाको दुई वर्ष पूरा हुँदैछ । दुई वर्ष पहिले २०७५ साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । घटना भएपछि नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन् । तर, अनुसन्धान भने निश्कर्षमा पुग्न सकेको छैन ।
यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान गरे पनि टुंगोमा पुग्न सकेनन् । खनालको कार्यकालमा अनुसन्धानपछि एक जना स्थानीय पक्राउ परेका थिए । दिलिपसिंह विष्टलाई हिरासतमा लिइए पनि उनी निर्दाेष भन्दै आन्दोलन भयो । त्यसपछि घटना थप गिजोलियो ।
त्यसपछी आइजीपी ठाकुर ज्ञवालीको कार्यकालमा कुनै प्रगति हुन सकेन् । ज्ञवाली तिनै प्रहरी अधिकारी हुन्, जो निर्मला हत्याकाण्डपछि घटनास्थलमै गएर अनुसन्धान गरेका थिए । तर उनी प्रहरी प्रमुख हुँदा कुनै प्रगति हुन सकेन । प्रहरीलेनै घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेकोले प्रमाण नष्ट भएका छन् । यस्तै सुरुवाती दिनमा प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ ।
अहिले प्रहरी प्रमुख थापाले यो घटनाको अनुसन्धान निष्कर्षमा पुर्याउन सक्रियता देखाएका प्रहरी उच्च अधिकारीहरू बताउँछन् । यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिएका हुन् ।
‘महानिरीक्षक थापाले निर्मला हत्या घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्याउन सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख सहकुल थापालाई निर्देशन दिएका छन्,’ प्रहरी स्रोतले भन्यो ।
घटना हुँदा प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेकाले हत्याकाण्डमा प्रहरीको हात रहेको स्थानीय बासिन्दाले आशंका गरेका थिए । छानबीनको माग गर्दै प्रहरीको विरूद्धमा प्रदर्शन समेत भयो । प्रदर्शनमा गोली लागी थप एक बालकको समेत मृत्यु भएको थियो । त्यसपछि घटनाको झण्डै महिना दिनपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ । त्यसयता धेरै छानबिन समिति बने पनि निश्कर्ष निस्किएको छैन ।
बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेको थियो । आन्दोलन नियन्त्रणबाहिर गएपछि महिनौसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।
बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।