सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–पोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो ।
पृथ्वीराजमार्ग क्षेत्रमा सानाठूला गरी करीब दश स्थानभन्दा बढी स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । बिहान ७ बजेदेखि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा अवरुद्ध पहिरो हटाउन प्रयोग गरिएको उनले बताए ।
सोमबार बिहान पानी परिरहे पनि दिउँसो पानी रोकिएपछि घाम लागेका कारण पहिरो पन्छाउन सहज भएको हो । उनले भने “मौसमले साथ दिएका कारण पहिरो हटाउन सफल भएको हौँ ।” पृथ्वीराजमार्गअन्तर्गत दमौली–थर्पु र दमौली–डुम्रे सडकखण्ड क्षेत्रको पहिरो पन्छाई सकेपछि बाँकी रहेको आँबुखैरेनी क्षेत्रको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।