काठमाडौं । केही दिनयता परेको अविरल वर्षाको कारण कारण देशभरका अधिकांश सडक अवरुद्ध छन् । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गलगायत विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा छन् । पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। सोमबार बिहानदेखि बन्द भएको पृथ्वी राजमार्ग मंगलबार पनि खुल्ने अवस्था छैन ।
हेटौँडा कुलेखानी सडक पनि पूर्णरुपमा बन्द भएको छ । हेटौँडा, नौबिसे,काठमाडौं सडक सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ । अरनिको रार्जमार्ग बन्द छ । उता विपी राजमार्ग भने सञ्चालनमै रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।
मुग्लिन, नारायणगढ सडकखण्डमा पनि पहिरोले अवरोध गरेको छ । सो खण्डको सडक मंगलबारसम्म संचालनमा आउन सक्ने भए पनि मौवाखोलाको पुलमा भएको क्षतिका कारण राजधानीसम्म आवतजावत हुन सक्ने अवस्था छैन । विपी राजमार्गमा पनि स–साना पहिरो खस्ने क्रम जारी भए पनि खुलाउने काम भइरहेको छ । तर, पाल्पा–तानसेन–बुटबल सडक भने आइतबारदेखि नै बन्द छ । पोखरा–मुग्लिन सडक भने सञ्चालनमै छ ।
सडक विभागले अहिले देशभरको सडक अवरोध खुलाउन र तत्कालको मर्मतका लागि आवश्यक रकम अभाव हुन नदिने गरी काम गरिरहेका छ । कतिपय स्थानमा पुल बगाएपछि बेलीब्रिज हाल्ने काम पनि विभागले गरिरहेको छ । उनका अनुसार अहिलेसम्म बाढी र पहिरोका कारण सडकमा मात्र डेढ अर्बभन्दा बढीको क्षति भइसकेको छ ।