मंसिर ०७, २०८१, शुक्रबार
               

पहिरोले १०९ परिवार विचल्लीमा

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

तनहुँ । अविरल वर्षापछि आएको पहिरोका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् । 

गत असार २८ र २९ गते र पुनः आइतबार रातिदेखि हालसम्म पनि परिरहेको वर्षाले क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । जोखिममा परेकालाई स्थानीय सामुदायिक भवन र सामुदायिक विद्यालयमा स्थानान्तरण सारिएको उनले बताए । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनीलगायतका क्षेत्रका मानिस बढी मात्रामा पहिरोको जोखिममा परेका छन् । 

त्यसैगरी नदी तथा खोला किनार आसपासमा बस्ने घरपरिवार पनि बाढी पहिरोको कारण विस्थापित बनेका छन् । वर्षायाममा खोला नदी किनारतर्फ नजान प्रशासनले सबैलाई आग्रह गरेको छ । प्रजिअ अधिकारीले बाढी पहिरोले घर पूर्णरुपमा क्षति भएमा १० हजार राहत दिने कानूनी व्यवस्था रहेको बताए । 

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित शान्तिनगरका आठ घर परिवार पहिरोको उच्च जोखिममा परेसँगै घरबास छाडेर अन्यत्र सारिएको छ ।  नगरपालिकाको समन्वयमा उनीहरुको तत्कालको गाँस र बासको व्यवस्था वडाले गरेको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिए । पहिरोको जोखिममा रहेका आठ घरधुरीका ३६ जनालाई अहिले सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

त्यसैगरी तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज दिउँसो घर माथिबाट आएको पहिरोले दुई घर बगाउँदा क्षति भएको छ । महेन्द्र धौरालीको घर भत्किएसँगै घरमा रहेका आमा ८० वर्षीय तिलमाया र छोरी १७ वर्षीया दीपसा बेपत्ता भएका हुन् । 

घट्नाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी मिलेर खोजी बेपत्ता एक जनाको खोजी कार्य भइरहेको नायब निरीक्षक कविन्द्र गुरुङले बताए । 


कस्तो लाग्यो ?

यो पनि