चितवन । केहिदिन देखि लगातार परेको बर्षाका कारण चितवनका विभिन्न स्थानमा क्षति पुगेको छ ।
कालिका नगरपालिका १० स्थित सिद्धिमा पहिरोले खानेपानीको पाईप बगाएको छ ।
सिद्धि स्थित छेरवाङमा खानेपानीको पाइप पहिरोले बगाएपछि ८० घरधुरी खानेपानीबाट बन्चित भएको स्थानीय दलबहादुर चेपाङले जानकारी दिए ।
चेपाङका अनुसार, छेरवाङबासीले पाँच किलोमिटरको दुरीमा रहेका स्याङसिरिङबाट पानी खाने गरेका थिए । सो स्थानमा १ सय ११ घरधुरी छन् ।
अहिले पनि पानी परेका कारण खानेपानीको मुहानमा जान नसकिएको उनले बताए ।
साउने पानीखानका लागि आकाशबाट आएको साउने पानीको भर पर्नु परेको उनले बताए । त्यस्तै पहिरोका कारण केही घरहरु जोखिममा परेका छन् ।
उत्ता इच्छाकामना गाउँपालिका-३ स्थित चौतारा खुलाल टोलमा माथिबाट आएको पहिरोले गोठ पुरेको छ । स्थानीय अर्जुन गुरुङको गोठमा पहिरो खस्दा एक हल गोरु पुरिएका छन् ।
गोठ नजिक रहेका घर पनि जोखिममा परेको छ । अविरल वर्षाका कारण शक्तिखोर फिस्लिङ्ग सडकमा पहिरो जाँदा ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् ।