मंसिर ०७, २०८१, शुक्रबार
               

पश्चिम नेपालमा सर्पको बिगबिगी, दैनिक १० जना सर्पदंशका बिरामी अस्पताल भर्ना

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

बाँके । सर्पले टोकेका बिरामीले भरी अस्पतालको इमरजेन्सी भरिएको छ । आइसियुमा पनि सर्पदंशका बिरामीको संख्या धेरै भएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन समेत रहेका सर्प दंश उपचार फोकल पर्सन डा. पारस पाण्डेले बताए ।

उनले भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सर्पदंशका एकजना बिरामीको उपचारका क्रममा मृत्यु भएको बताए । ‘उपचारका लागि अस्पतालमा ल्याउँदा धेरै ढिलो भइसकेको थियो । बिरामीको स्वास्थ्य अवस्था एकदमै नाजुक भइसकेको थियो,’ डा. पाण्डेले भने, ‘आइसियुमा राखेर उपचार गर्यौँ, तर धेरै ढिलो भइसकेको थियो । धेरै प्रयास गर्दा पनि बचाउन सकेनौँ ।’ सर्पले टोकेर अस्पताल पुग्न नपाउँदै दुईजनाको मृत्यु भएको उनले बताए ।

झारफुकमा विश्वास गरेका कारण अस्पताल ल्याउन ढिलाइ हुने गरेको पाण्डे बताउँछन् । उनले भने,  ‘उपचारका लागि अस्पताल ल्याउनुभयो, तर अस्पताल पुग्दा दुईजना बिरामीको मुटुको चाल बन्द भइसकेको थियो ।’ भेरी अस्पतालमा जेठ दोस्रो सातादेखि असार मसान्तसम्म १२५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

पछिल्लो तीन दिनमा मात्र १४ जना सर्पले टोकेका बिरामी भर्ना भएको फोकल पर्सन पाण्डेले बताए । तीमध्ये आठजनाको अवस्था नाजुक भइसकेको थियो । उनीहरुको आइसियु वार्डको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको भनाइ छ ।

अधिकांशले जटिल समस्या भएपछि मात्र उपचारका लागि अस्पतालमा ल्याउने गरेको उनले बताए । फोकल पर्सन पाण्डेका अनुसार अस्पतालमा दैनिक सरदर १० जना सर्पदंशका बिरामी आउने गरेका छन् । कैलालीको सेती अस्पताल र दाङको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियु र भेन्टिलेटर नहुँदा त्यहाँका बिरामी पनि भेरी अस्पतालमा रेफर भएर आउने गरेको डा. पाण्डेले जानकारी दिए ।

 उपचारका लागि भेरी अस्पतालमा आएकामध्ये धेरैजसो करेत सर्पले टोकेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । डा. पाण्डेका अनुसार सर्पले टोकेकामध्ये अधिकांश ४० वर्षमुनिका छन् ।

कोहलपुर क्षेत्रका बिरामी धेरै कोहलपुर क्षेत्रबाट सर्पदंशका बिरामी धेरै आउने गरेका छन्। गत वर्ष पनि कोहलपुर क्षेत्रबाट सर्पदंशका बिरामी धेरै आएको बताउँदै डा. पाण्डले यस वर्ष पनि कोहलपुर क्षेत्रबाट नै धेरै आएको बताए। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको जंगल पर्ने भएकोले कोहलपुर क्षेत्रमा सर्पदंशको समस्या देखिएको उनको अनुमान छ ।

उनले असार अन्तिम सातादेखि साउन दोस्रो सातासम्म सर्पको बिगबिगी हुने समय भएको बताए । उनले भने, ‘अहिले सर्प बाहिर निस्कने समय हो। सर्पबाट सावधानी अपनाउने बेला हो ।’
 


कस्तो लाग्यो ?

यो पनि