जेठ ०९, २०८१, बुधबार
               

कालोपत्रे भएको एक वर्ष नपुग्दै भत्कन थाले बौद्ध क्षेत्रका सडक

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको लामो समय अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । 

कालोपत्र भएपछिको पहिलो वर्षादमै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गरेका छन् । ‘खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उनले बताए। सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो,' उनले भने । 

चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला सुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ । 

‘यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको छ,’ पर्यटन व्यवसायी निमा लामाले भने, ‘काठमाडौं महानगरपालिका वडा नं. ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ ।’

टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकालतिर निस्कने अमिताभ बुद्धमार्गको अवस्था त झनै दयनीय छ । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताए ।  बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षादमा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ ।

हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानीसमेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ ।

महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताए । 

निर्माण व्यवसायीलाई सडकका विषयमा जानकारी गराउन पटकपटक स्थानीय सरकारका तर्फबाट सम्पर्क गर्दा समेत फोन नउठाउने गरेको गुनासोसमेत उनले बताए ।

हायात होटलको अघिको सडकमा विगतदेखि नै भित्रबाट आउने पानीका कारण सडक बिग्रने गरेको वडा कार्यालयले जनाएको छ । यो समस्या समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरे पनि होटलले टेरेको छैन । वार्षिकरुपमा नेपाल आउने लाखौँ पर्यटक बौद्ध क्षेत्रमा घुम्न जाने गरेका छन् । सडकमा होटल एवं अन्यत्रका बाटाबाट लगाइने पानीका कारण खाल्डा खुल्डी भई पानी जम्ने गरेको छ । आरुबारी, तीनचुल र महाँकाल क्षेत्रको वर्षाद्को भेल बौद्धको मूल सडकमा झर्छ ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले पाँच वर्ष अघि गरेको ठेक्का अनुसार यहाँको सडक बिस्तार भएको हो । निर्धारित समयमा ‘साइट क्लियर’, पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्ने लगायत समस्याका कारण काम सम्पन्न हुन सकेको थिएन ।

तेस्रो पटक थपेको यो सडकको म्याद पनि गत चैतमै सकिएको छ । बन्दाबन्दीमा म्याद सकिएका आयोजनालाई छ महिना थप्ने निर्देशानुसार असोजसम्म बढाउन लागिएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । 

‘करिब पाँच किमि यो सडकमा आसफाल्ट गर्न बाँकी छ, हायात अघि र विभिन्न स्थानमा बाटोबाट पानी आउने ठाउँमा खाल्डा खुल्डी भएको छ, हायातको पर्खालबाट सडकमा पानी खस्ने प्वाल बनाइएको रहेछ, सडक सुधारका लागि यो समस्या समाधान गर्न पहल गरेका छौँ”, उनले भने।

सडकमा निर्माण व्यवसायीले काम गर्दा कतै पनि आयोजनाले सूचनापाटीसमेत नराखेकाले सडक निर्माणसम्बन्धी वास्तविक जानकारी पाउनबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । आयोजनाका अनुसार ३५ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको सडकमा ८० प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको छ । कात्तिकसम्ममा सडकको काम सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि